Thursday, October 1, 2015

सम्बन्धको पुल

कविता

जब मान्छेले कर्तव्य बिर्सन्छ
दायित्व सम्झदैन
लगाएका गुणहरु भुल्छ
मात्र अधिकार खोज्छ
र त्यसपछी
बल्न थाल्न घृणाको मैनबत्ती
बराबर आधा– आधा सम्भावना
जसरी मैनबत्ती बल्नु र निभ्नुमा
अक्सिजनको महत्व हुन्छ
अनि मैनबत्ती आफ्नै पनि
दईटा कुरा कि त सकिन्छ
 कि सकाउँछ अरुलाई पनि
जब अहम्ता उकालो लाग्छ
घमण्ड पछी लाग्छ
प्रशंशाले कसैको प्रतिक्षा गर्छ
अड्कलबाजीको बादल लाग्छ
शंका उपशंकाको झरी पर्छ
बैमनस्यताको हुरी चल्छ
वादविवादको भेल आउँछ
हो त्यसैबेला
 भत्किन्छ एउटा सम्बन्धको पुल
र टुङ्गिन्छ एउटा अध्यायको कथा ।


कल्पना प्रकृति  मन्थली ८ रामेछाप





ठूलो माछा

कविता

ठूलो माछा
वास्तवमा मैले तिमीलाई ठूलो देखेर म तर्सिनुको साटो
उल्टै तिमीतिर आकर्षित भए
तिम्रो जिउडाल,हिडाइ, बोलाई
र आमन्त्रणले लठ्ठीएर म तिम्रो पछी पछी लागे
तिम्रो आश्वासन र मेरो महत्वाकाक्षाले
मलाई घचेटी रह्यो
जब म तिम्रो नजिक आए
सोचेको थिए खुसी नै खुसी बहार मिल्नेछ मेरा लागि
 सोचेको थिए हासो र उमङ्गको उपहार मिल्नेछ मेरा लागि
तर वास्तवमा तिमीले दिएको मिठो आश्वासनमा
लुकेको रहस्य र यथार्थको गहिराइ फरक रहेछ
वास्तवमा तिमीले मलाई निल्नका लागि
यि सब आश्वासन ओकलेका थियौ भन्ने बुझ्नै सकेनछु
जे होस् म बाँचेको छु
मलाई थाहा छ
 बाच्नु ठूलै कुरा हो र बाच्नका लागि धैर्यता जरुरी छ
ठूलो माछा
वास्तवमा मैले तिमीलाई  नचिन्नुको परिणाम
मैले तिमीलाई गरेको विश्वासको ठूलै मूल्य
चुकाउनु प¥यो
सधैं मैले मेरो पहिचान लुकाउनु प¥यो
जब मैले तिमीलाई प्रतिस्पर्धी नठानेर
वन्धु ठाने ,तिम्रो समीपमा खुसी माने
जसको फलस्वरुप नजिक बोलायौ
निल्न खोज्यौ म अड्कीए तिम्रो घाटीमा
किनकी म तिम्रो घाँटी भन्दा ठूलो  थिए ।

२०७२\५\१
कल्पना प्रकृति  मन्थली ८ रामेछाप



गजल


 सधैं तिमी हाँसेको देख्न चाहन्छु
अमर बनी बाँचेको देख्न चाहन्छु

मोती जस्तो मुस्कान टस्की रहोस ओठमा
सधैं खुसी साँचेको देख्न चाहन्छु

दुनिँयामा कसैसँग वैरभाव नभइ
प्रेमको माला गाँसेको देख्न चाहन्छु

जीन्दगीको मैदानमा दुःखहरुको बुट्यान
जरै सम्म मासेको देख्न चाहन्छु

अंगालेर जुनी –जुनी छाती भरी सदावहार
सफलतालाई टाँसेको देख्न चाहन्छु ।


गजल


यो समाजमा जात, किन बनाइयो
ऐजेरुको पात ,किन बनाइयो

उजुरी छ दैव , तिम्रो अदाालतमा
छुट्ने भए साथ, किन बनाइयो

मनले भन्छ एउटा, समाजले अर्को
परम्पराको खात , किन बनाइयो

मनले अगाल्यो तर अछुत भइ दियो
साँची त्योे अचल हात, किन बनाइयो

कि त विश्वास तिमीले रोप्न हुदैनथ्यो
सँगसँगै घात किन गराइयो ।।